अध्यागमनको सेटिङमा भिजिट भिसा लगाएर खाडी पुगेका ६० प्रतिशत महिला घरेलु काममा

Published On: Tuesday, March 28, 2017 | Source: NRNA IRAQ

अध्यागमनको सेटिङमा भिजिट भिसा लगाएर खाडी पुगेका ६० प्रतिशत महिला घरेलु काममा

काठमाडौं । नेपालबाट भिजिट भिसामा गएका ६० प्रतिशत महिला खाडीमा अवैध तरिकाले घरेलु कामदारका रूपमा काम गरिरहेको व्यवस्थापिका संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय समन्वय तथा श्रम समितिले जनाएको छ । नेपाली कामदारको अवस्था बुझ्न खाडीका चार मुलुक (साउदी अरब, कतार, युएई र कुवेत) पुगेको समितिले आश्चर्यजनक तथ्यांक फेला पारेको बताएको छ ।

मंगलबार स्वदेश फर्किएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै घरेलु कामदारका रूपमा खाडीमा काम गर्ने महिलाले नारकीय जीवन भोग्नुपरेको बताएको छ ।

नेपालकै अध्यागमनबाट सेटिङ मिलाएर कुवेत तथा दुबई पुर्याइएका महिलालाई त्यहाँबाट साउदी अरबमा घरेलु कामदारका रूपमा बेच्ने गरेको तथ्य फेला परेको संसदीय समितिका सभापति प्रभु साहले बताए । “कोही दिल्लीबाट, कोही श्रीलंकाबाट उडे पनि अधिकांश काठमाडौंबाटै बिना रोकटोक टुरिस्ट भिसामा गएको र त्यहाँ घरेलु कामदारका रूपमा बेचिएको सुन्दा आश्चर्यमा परेको छु,” सभापति साहले भने, “धेरै महिला कामदार हाउसमेडमा अवैध ढंगबाट पुगेका रहेछन् ।”

भ्रमणकै लागि परिवारसँग जाँदा अध्यागमनले अनावश्यक केरकार गरेर दुःख दिने प्रवृत्ति सुनिँदै आएका बेला यसरी ठूलो संख्यामा महिलाहरू भिजिट भिसामा बाहिर गइरहेको तथ्य फेला पार्दा अध्यागमनले सेटिङमा पठाउने गरेको बुझिएको साहको भनाइ छ । समितिले आफ्नो अध्ययन प्रतिवेदनसहित आवश्यक कारबाहीका लागि सरकारलाई सिफारिस गर्ने जानकारी उनले दिए ।

अनुगमन टोलीमै रहेका श्रम मन्त्रालयका उपसचिव झलक शर्मा सापकोटाले त्यहाँको भयावह स्थिति देखेर आफैँलाई ‘काउन्सिलिङ’ गर्नुपर्ने अवस्था आएको अनुभव सुनाए । “सेटिङमा महिलालाई कुबेतबाट गाडीको डिकीमा राखेर साउदी पुर्याउने गरिँदो रहेछ । यसरी साउदी पुग्नेबित्तिकै कामदार अवैधानिक हुन्छन् । कामदार महिलालाई आफू कहाँ छु भन्ने समेत जानकारी हुँदैन,” उनले भने ।
उपसचिव सापकोटाले रोजगारदाताको घरमा पुगिसकेपछि त्यहाँबाट कामदार निस्कने कुनै गुञ्जायस नदेखेको बताए । “कामदारले कसलाई उजुरी गर्ने, दूतावासको नम्बर कति हो, केही पत्तो हुँदैन । घरमालिकको अनुमतिबिना त्यहाँ प्रहरी पनि जान नपाउने रहेछ । नेपाली दूतावासका कर्मचारी उद्धार गर्न जान पनि सक्दैनन् । घर मालिकलाई गोली हान्न सक्नेसम्मको अधिकार रहेछ,” उनले भने, “सजिलो तरिकाले त्यहाँबाट नेपाली कामदारको उद्धार हुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन, नेपाली महिला नारकीय जीवन बिताउन बाध्य रहेछन् ।”

खाडी मुलुकमा यसरी काम गर्ने महिलाको संख्या लाखौँ रहेको उनको दाबी छ । घरेलु कामदारका रूपमा साउदीमा बेचिएका महिलाहरु कम पारिश्रमिकमा काम गर्न बाध्य भएको, शोषणमा पर्दा बोल्न सक्ने अवस्था नरहेको र बोल्ने ठाउँ नभएको समितिले बताएको छ ।

बेचिएका नेपाली महिलाको यकिन तथ्यांकसमेत आउन नसक्ने अवस्था रहेको उपसचिव सापकोटा बताउँछन् । “तथ्यांकमा कुबेत गएको देखिन्छ तर त्यहाँबाट उनीहरू बेचिएर साउदी पुग्छन् र साउदीमा उनीहरूको तथ्यांक हुँदैन । यस्तो अवस्थामा उनीहरूलाई खोजी गर्न समेत नसकिने अवस्था छ,” उनले भने, “त्यहाँबाट केही गरी महिलाहरू उम्के पनि उनीहरूलाई चोरीको मुद्दा लगाएर पक्राउ गर्ने गरिएको छ । यस्तो मुद्दा मालिकले फिर्ता नलिएसम्म त्यहाँको सरकारले एक्जिट भिसा नै दिँदैन ।”

उनका अनुसार साउदीमा मुस्लिमबाहेकका मान्छेलाई ‘काफिर’ भनिन्छ । उनीहरूको धार्मिक मान्यताअनुसार काफिरलाई जति यातना दियो, उति नै पुण्य प्राप्त हुन्छ । यसले गर्दा पनि नेपालीले यातना भोग्नु परेको उपसचिव सापकोटाको अनुमान छ ।

खाडी मुलुकमा नेपालीको समस्या भयावह रहेको भन्दै संसदीय समितिले सरकारलाई प्रतिवेदन बुझाउने र समस्या समाधान गर्न पहल गर्ने बताएको छ ।