आमा आइन् छोरीको शव बुझ्न आमा आइन्

Published On: Sunday, October 2, 2016 | Source: NRNA IRAQ

आमा आइन्
छोरीको शव बुझ्न आमा आइन्
- होम कार्की , काठमाडौं

विमानस्थलमा छोरीको शव लिन पुगेकी कल्पना नेपाली । साथमा छोरीको शव। इराकमा आत्महत्या गरेकी अन्जना ।
आश्विन १६, २०७३- मान्छेलाई आपत परेको बेला अर्को आपत आइपर्छ भन्छन् ।

कल्पना नेपाली माथि पनि यस्तै आइपर्‍यो । चार दिन अघि मात्रै श्रीमान बितेको खबर पाएर कल्पना पोखराबाट कागबेनी, मुस्ताङमा पुगेकी थिइन् । कागबेनी पुगेर श्रीमानको अन्तिम दाहसंस्कार गर्न नपाउँदै उनले इराकबाट अर्को खबर पाइन्, ‘अन्जनको शव शुक्रबार बिहान ७ बजे त्रिभूवन विमानस्थलमा आइपुग्दैछ । लिन जानुहोला ।’

अन्जना नेपाली उनको जेठी छोरी थिइन् । २९ वर्षीया अन्जनाले इराकको स्वशासित राज्य कुर्दिस्तानमा चार महिना अघि १३ मेमा आत्महत्या गरेकी थिइन् । २२ जनवरी २०१२ अन्जना घरेलु कामदार (हाउसमेड) को काम गर्न इराक पुगेकी थिइन् । मालिकको घर छाडेर बाहिर काम गर्न थालेको दुई बर्ष भएको थियो ।

शव पठाउने जिम्मेवरी कसैले लिएको थिएन । स्पोन्सर भन्थे,‘घरबाट भागिसक्यो पछि म किन शब पठाउने ?’ नेपाल सरकारले अन्जनालाई अबैध देख्थ्यो, ‘उनी श्रम स्वीकृति लिएर गएको होइन । फेरी इराकमा जान प्रतिबन्ध छ ।’ आफ्नै खर्च हालेर शब ल्याउन सार्माथ्य कल्पनाको थिएन । किनकि शब ल्याउन झन्डै चार हजार डलर लाग्थ्यो । चार महिनापछि इराकस्थित गैरआबासीय नेपाली संघले आर्थिक सहयोग जुटाएर अन्जनाको शब नेपाल पठाइदियो ।

........ 
 कागबेनीबाट तुरुन्तै काठमाडौं आउने सम्भब थिएन । उनले पोखरामा रहेका आफन्त यमबहादुर बिश्वकर्मालाई काठमाडौं पठाइन् । आफु पोखरामा जसरी पनि आइपुग्ने बताइन् । कागबेनीबाट उनी दिनरात गरेर शुक्रबार बिहानै बेनी आइपुगिन् । बेनीबाट पोखरा आइपुग्दा थाहा भयो कि,‘अन्जनाको शब ल्याउने जहाज १२ बजे मात्रै काठमाडौं आइपुग्ने रे ।’

आमाको मन न हो । मन कहाँ रोकिन्थ्यो र ? पोखराबाट जहाज चढेर आफै काठमाडौं ओर्लिन् । त्यतिन्जेलसम्म बिमानस्थलमा शब आइपुगेको थियो ।

त्रिभुबन बिमानस्थलबाट बाहिर शब निकाल्न आबश्यक प्रक्रिया त यमबहादुरबाटै पुरा गरे । शब पनि बाहिर निकाल्ने भइयो । तर, त्यतिखेर मात्रै कल्पनालाई याद भयो कि पोखरासम्म लैजान गाडी चाहिन्छ । ५५ बर्षिया कल्पनालाई अर्को कठिनाई आइपर्‍यो । बिमानस्थलभित्रका कर्मचारीले भनिदिए,‘बिदेशमा मृत्यु भएकाको शब लैजान बोर्डले गाडी ब्यबस्था गरिदिन्छ । त्यता बुझ्नुहोला ।

यमबहादुरले वैदेशिक रोजगार प्रर्बधन बोर्डमा फोन गरेर सोधे । बोर्डले फोनमै भनिदियो,‘श्रम स्वीकृति नलिई बिदेश गएकाको शबलाई घरसम्म पुर्‍याउन मिल्दैन ।’

तनाबमा भएकी कल्पनलाई रीस उठ्नु स्वभाबिक थियो,‘छोरी मर्दा त केही भएन । जसो तसो शब आइपुग्यो । यहाँ आइपसकेपछि जसरी पनि लैजान सकिन्छ नी ।’

उनीहरुले बिमानस्थलमै डिउटीमा बसेका प्रहरीलाई सहयोग मागे । प्रहरीले शब लैजाने एम्बुलेन्सको नम्बर थिए । त्यस एम्बुलेन्सले १३ हजार रुपैया भाडा लाग्ने बतायो । कल्पनासँग पैसा थिएन । यमबहादुर आफैले रकम जुटाए । १२ बजे आइपुगेको शब बिमानस्थलबाट निकाल्दा ३: १० भएको थियो ।

शबको साथमा कल्पना, उनकी देउरानी, ज्वाई पोखरातिर लागे ।

...........
घरकी एकमात्रै साहरा अन्जना थिइन् । इराक जानु अघि अन्जनाले कुबेतमा चार बर्ष हाउसमेडको काम गरेकी थिइन् । कुबेतबाट नेपाल फर्केपछि त्रिभूवन विमानस्थलबाटै इराक उडेकी थिइन् ।

‘बाउ र छोराको भर थिएन । उसकै भरमा घर चलेको थियो,’ उनले भनिन्,‘त्यसैले पनि संसार छोडेर गई ।’ कल्पना अन्जनाले आत्महत्या गरेको स्वीकार गर्दिनन् । ‘होटलमा काम गर्थी । सबै राम्रो थियो । कहिले दुखको कुरा सुन्नु परेको थिएन’, भनिन,‘मेरो छोरीलाई मारेको हुनुपर्छ ।’

छोरीको शब आफैले ल्याउन नसक्ने अबस्था भएपछि उतै गाडिन्छ भन्ने उनलाई लागेको थियो । ‘ल्याइदिने कसैले बचन दिएको थिएन । मैले केही गर्न सकेको थिइनँ’, भनिन्,‘छोरीको अन्तिम अनुहार हेर्न पाइन्छ भन्ने आश गरेको थिइनँ । भगवानले छोरीलाई देख्ने इच्छा पुरा गरिदियो ।’

इराकमा नेपाली दुताबास छैन । सरकारले प्रतिबन्ध लगाएको देश भने पनि २५ हजार नेपाली पुगिसके । त्यसमा ८० प्रतिशत त महिला नै छन् । पाकिस्तानस्थित नेपाली दुताबासबाटै इराक मामिला हेर्दै आएको छ । शब पठाउनका लागि पनि गैरआबासीय नेपाली संघबाट दुताबास र इराकी निकायबीच समुन्वय भयो ।

अन्जनाको शब अर्बिलस्थित अस्पतालमा थियो । अस्पतालमा शब राखे बापत दैनिक १२ डलर शुल्क लिन्थ्यो । शवको विषय अस्पतालको प्रशासनमा एनआरएनबाटै चासो राख्दै आएपछि अस्पतालले पनि छिटो शब लैजाना दवाव दिदै आएको थियो ।

एनआरएनका अध्यक्ष खेमप्रसाद पौडेल र पूर्वअध्यक्ष लालकाजी गुरुङ एउटा कम्पनीका म्यानेजर पदमा कार्यरत छन् । शब पठाउन उनीहरुकै सक्रियतामा काम अगाडि बढ्यो । आबश्यक कागजात बनाउन इराकको स्वास्थ्य र कानुन मन्त्रालय धाउन थाले । प्रहरीले आत्महत्या गरेको प्रमाणीत कागजात नै दिएपछि शब पठाउने प्रक्रिया अगाडि बढेको थियो । दुताबासले शब पठाउन चाहिने पत्र पठाइदियो ।

‘शव पठाउन चार हजार डलरसम्म खर्च लाग्थ्यो । हामीले अन्जनाको परिवारबाट यो खर्च ब्यहोर्न नसक्ने भएको जानकारी पाएपछि कार्गोले छुट दियो । अस्पतालले सबै शुल्क मिनाहा गरिदियो,' पौडेलले भने,‘इराकमै भएका नेपाली समुदाय तथा संस्थाबाट आर्थिक संकलन भयो । ३२ सय डलर खर्च गरी अन्जनाको शब पठाउन सफल भयौं ।’

..........
इराकबाट सिधा उडान नेपाल छैन् । उनको शब बुधबार बिहान ५ बजे नेपाल पठाइएको थियो । ढिलै भएपनि शब इराकबाट इरान-ओमन-लखनउ हुँदै काठमाडौं आइपुग्यो । ‘शवलाई पोखराको बिरौटामा पुर्‍याउनुछ,' शब एम्बुलेन्समा हालेपछि कल्पना भन्दै थिई, ‘अस्ती बाऊलाई जलाउनुपर्‍यो । भरे छोरीलाई जलाउनुपर्छ । बाऊ-छोरीको सँगै किरिया गर्नुपर्ने कर्म लिएर आएकी रैछु ।’

रातो सलले आँखामा बगेको आँशु पुछ्दै कल्पना एम्बुलेन्सभित्र राखिएको बाकसको छेउमा गएर बसिन् । कल्पनाको मनभित्र उम्लिरहेको पीडालाई मलम लगाउने औषधी सरकारसँगै कतै थिएन । किनकि सरकारको नजरमा अन्जना गैरकागजात बिहिन कामदार हुन् । जो अबैध भएर इराक जानुको परिणाम भने कल्पनाले भोगिरहेकी छिन् ।