आईएसद्वारा ५ कुर्दिस सैनिक मारिए

Published On: Wednesday, October 8, 2014 | Source: NRNA IRAQ

सुलेमानिया (एएफपी), आश्विन २२ - इराकमा आईएसले कम्तीमा पनि ५ कुर्दिस सैनिकको हत्या गरेको छ। पूर्वी इराकको जलावलासहरमा आईएसले सोमबार उक्त आक्रमण गरेका थिए।

इराकको दियाला प्रान्तको सैनिक पोस्टका अधिकारीहरूका अनुसार हालैका दिनमा इराकको जलावलामा आईएसले ठूलो संख्यामा आफ्ना लडाकु राख्न थालेका थिए। उक्त सूचनाको आधारमा इराकी सैनिकको नेतृत्वमा त्यहाँ कारबाही सुरु भएको थियो। आईएसका तर्फबाट भएको प्रत्याक्रमणमा ती सैनिक मारिएका हुन्। हालैका दिनमा इराकमा आईएसले हिंसा मच्चाइरहेका छन्। उनीहरूले पूर्वी इराकमा सयौं नागरिकको हत्या गरिसकेका छन्। अमेरिकी नेतृत्वमा केही मध्यपूर्वी राष्ट्रहरूसमेत सम्मिलित सैनिकले केही दिनदेखि इराकमा पनि हवाई कारबाही गरिरहेको छ। तर पनि आईएसको प्रभाव भने उल्लेखनीय रूपमा घट्न सकेको छैन।

इराकमा गत महिना भएका हिंसामा कम्तीमा १ हजार १ सय १९ को मृत्यु भएको छ। राष्ट्रसंघको यसै साता प्रकाशित उक्त प्रतिवेदनमा विशेषगरी हिंसाग्रस्त पश्चिमी प्रान्त अनबर तथा जिहादीबीच भएको संघर्षमा ज्यान गुमाउनेको संख्या जोडिएको छैन। यसरी मारिनेमा ८ सय ५४ नागरिक र २ सय ६५ सुरक्षाकर्मी छन्। राष्ट्र संघीय इराकी नियोगले ती नागरिकको सेप्टेम्बरमा मृत्यु भएको जनाएको हो। उक्त अवधिमा हिंसाका कारण घाइते हुनेको संख्या २ हजार पुगेको छ। यो संख्या जुलाई तथा अगस्टको भन्दा कमै हो। जुलाईमा हिंसाका कारण १ हजार ७ सय ३७ मृत्यु भएको थियो भने अगस्टमा १ हजार ४ सय २० को मृत्यु भएको थियो। अगस्टमा पश्चिमी भागमा सबैभन्दा नराम्रो हिंसाका घटना देखिएका थिए। त्यहाँ जिहादी लडाकुले सैनिक केन्द्रमा आक्रमण गरेका थिए। त्यहाँ सयौंको मृत्यु भएको शंका गरिएको थियो।

सिरियामा हवाई आक्रमण

दमास्कस- सशस्त्र विद्रोही समूह आईएसका विरुद्ध मंगलबार सिरियाको दक्षिणी पश्चिमी सीमा क्षेत्रको कोबाने नगरमा आक्रमण सुरु भएको छ।

टर्कीसँग सीमा जोडिएको उक्त नगरमा आईर्एसका क्रियाकलाप बढ्दै गएको सूचनाका आधारमा हवाई आक्रमण गरिएको हो। अमेरिकी नेतृत्वको सेनाले कोबानेमा बिहानदेखि आक्रमण थालेको हो। उक्त सहरको वरिपरि रहेका केही भूभाग कब्जा गरेको जानकारी आईएसले दिएको केही दिनपछि यो आक्रमण सुरु गरिएको हो।

 

प्रकाशित मिति: २०७१ आश्विन २२ ११:२९