विदेश गएकी भोजपुर जिल्लाको हसनपुर ४ की १९ बर्षीय मनिषा राई बेचिएको

Published On: Sunday, February 21, 2016 | Source: NRNA IRAQ

राम्रो कमाउँने सपनामा विदेश गएकी भोजपुर जिल्लाको हसनपुर ४ की १९ बर्षीय मनिषा राईलाई जब आफू बेचिएको थाहा भयो तब आफू बचेर फेरी घर फर्किन्छु भन्ने आशै हराइसकेको थियो । आफ्नै नेपाली दलालको फन्दामा परेकी उनी विदेशमा बिक्री भएपछि त्यहाँवाट भागेर अलपत्र बनेको खबर सञ्चार माध्यमहरुले सम्प्रेषण गरेपछि विभिन्न निकाय र व्यक्तिहरुको सहयोगमा अन्ततः उनी नेपाल फर्कन सफल भएकी छन् ।

गत असोजमा मानव तस्करी गर्ने दलालको फन्दामा परेर अवैध तरिकाले कुर्दिस्तान हुदै मनिषा इराक पुगेकी थिइन् । न्यूज २४ टेलिभिजनले उनलाई मानव तस्करले विदेशमा विक्री गरेको समाचार प्रसारण गरेपछि कुर्दिस्थानमा अलपत्र उनलाई कुर्दिस्तान पुर्याउने एजेण्टले नै सशुकल नेपाल झिकाएको हो । मनिषाका आमाबुबाले छोरीको उद्वार गरिदिन सञ्चारमाध्यम मार्फत आव्हान गरेका थिए । मंगलबार मात्रै काठमाडौंमा उत्रेकी उनी काठमाडौवाट सिधै धरान पुगेकी थिइन् । न्यूज २४ टेलिभिजनसँग कुराकारी गर्दै मनिषाले आफू दलालको प्रलोभनमा फसे पनि अब कोही पनि नेपाली चेलीहरु दिल्ली हुदै नजान सुझाव दिइन् ।
उनी दुबई जाने तर्खरमा थिइन् । तर, काठमाण्डौंको मिराकल म्यानपावर कम्पनीका एजेण्ट बमबहादुर गुरुङले सित्तैमा कुर्दिस्तान पठाइदिने प्रस्ताव गरे । शुरुमा इन्कार गरेपनि सबै खर्च व्यहोरिदिने र कमाई राम्रो हुनेजस्ता प्रलोभन देखाएपछि उनी राजी भइन् । राम्रो कम्पनीमा काम दिलाउने भने पनि कुर्दिस्तान पुगेपछि बल्ल घरेलु कामदारको रुपमा आफू बिक्री भएको थाहा पाएको उनले सुनाइन् । घर मालिकले बिहान ७ बजेदेखि राती २, ३ बजेसम्म काम लगाउने र खाना समेत जतिबेला मन लाग्यो त्यतिबेला मात्र खान दिने गरेको उनले बताइन् । काम गर्दिनँ भन्दा कम्पनीको बोसले शारीरिक तथा मानसिक यातना दिने गरेको मनिषाले दुखेसो पोखिन ् ।
घरमालिकबाट यातना दिदै शारीरिक शोषण समेत गर्ने प्रयास हुन थालेपछि उनी कम्पनिवाट भाग्न सफल भइन् र साथीको शरण लिन पुगिन् । उनलाई नेपाली दलालले कम्पनी मार्फत आफूलाई ५ हजार डलरमा घरमालिकलाई २ बर्षको लागि बिक्री गरेको दाबी गरिन् । मनिषाका अनुसार एजेण्टले प्रोडक्सन कम्पनी भनेर युवतीहरुलाई झुक्याएर लैजाने र उता पुगपछि कम्पनी मार्फत युवतीहरुला बिक्री गर्ने गरेको बताईन् । चौथो घरमा २ महिना ६ दिन काम गरेपछि ६ सय डलर ज्याला लिएर घुम्न निस्किएको बहानामा एक सरो कपडा र ब्याग बोकेर उनी भाग्न सफल भइन् । त्यहाँ भागेपछि उनी झन् असुरक्षित बनेकी थिइन् । सिन्धुपाल्चोककी एक युवतीको कोठामा एक महिना लुकेर बसेको बेला कम्पनीले कसैले फेला पारे ५ सय डलर पुरस्कार दिने भनेपछि नेपालीहरुले नै उनको खोजी गरेका थिए । तर यता नेपालका एजेण्टले उनका आमाबुबालाई ५ लाख दिए मात्रै फकाईदिने भन्दै उल्टै बार्गेनिङ गरेको उनले गुनासो गरिन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनी अलपत्र परेको खबर सार्वजनिक भएपछि उनको परिवारले उनलाई सकुशल नेपाल ल्याउन आग्रह गरेको खबर न्यूज २४ टेलिभिजनवाट प्रसारण भएपछि सुरुमा ५ लाख माग्ने एजेण्टले आफै खर्च गरेर मनिषालाई नेपाल ल्याइदिएको उनकी आमा ताराले बताइन् ।
काठमाडौंदेखि दिल्लीसम्म गाडीबाट गएका उनी दिल्लीबाट भिजिट भिषा लिएर दुबईसम्म पुगिन् । यसका लागि एजेन्टले नै सबै सेटिङ मिलाएको थियो । दिल्ली एयरपोर्टमा उनलाई दुबईमा आफन्तलाई भेट्न जान लागेको र एक महिनामा फर्किने भनेर जवाफ दिन सिकाएका थिए ।